काठमाडौँ। पहिलो महिला राष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा पुनः सक्रिय सहभागिता लिनेको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया सार्वजनिक रूपमा देखिन थालेको छ। लामो समयसम्म संसददेखि शीरस्थानसम्म नेतृत्व सम्हालिसकेकी भण्डारीको यो पुनरागमन नेपाली राजनीतिको लागि सशक्त र सन्तुलनकारी आवाजको पुनर्स्थापना मानिएको छ।
उनको यो कदमलाई केवल एक नेतृको पार्टीमा फर्किने घोषणाको रूपमा मात्र नभई, जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद (जबज)’ को निरन्तरता र प्रतिबद्धताको प्रतीकका रूपमा पनि हेरिएको छ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको पुनः सक्रियता राजनीतिक धर्मको निरन्तरता भएको बताउँदै भनेका छन्, “विद्या भण्डारी राजनीतिक मान्छे हुन्, राजनीतिमा आउनु उहाँको धर्म हो।” उनको यो भनाइले प्रजातान्त्रिक परिवेशमा पूर्वराष्ट्रपतिहरूको राजनीतिक सक्रियता कति स्वाभाविक र आवश्यक छ भन्ने कुरालाई पुष्टि गर्छ।
राजनीतिक क्षेत्रभित्र महिलाको निर्णायक सहभागिता अझै पनि सीमित रहेको सन्दर्भमा भण्डारीको पुनरागमन प्रेरणादायी छ। राष्ट्रपतिको गरिमामय पदबाट अवकाश लिएपछिको उनको सक्रियता महिलाको राजनीतिक सशक्तीकरणका लागि एक नयाँ उचाइ बन्ने विश्वास गरिएको छ।
अब भण्डारी पार्टीभित्र कुन भूमिका निभाउनेछिन् भन्ने कुरा सल्लाह, समझदारी र नेतृत्वको सहमतिमा निर्भर रहने भए पनि उनको उपस्थिति मात्रले पनि पार्टीको वैचारिक बल, नेतृत्वको गम्भीरता, र संगठनात्मक अनुभवमा सशक्त प्रभाव पार्ने निश्चित देखिन्छ।
समग्रमा भण्डारीको राजनीतिमा पुनः सक्रियता एमालेको लागि मात्र होइन, समग्र लोकतान्त्रिक अभ्यास, समावेशी नेतृत्व र मूल्यगत राजनीतिप्रतिको आस्थालाई बलियो बनाउने सकारात्मक घटनाक्रमको रूपमा देखिएको छ।




