देश

मदन भण्डारी फाउन्डेशन कुनै षड्यन्त्र होइन, भण्डारीका सपना अगाडि बढाउने प्रयासमात्र हो : अध्यक्ष उषाकिरण भण्डारी

काठमाडौँ। मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले फाउन्डेशनलाई षड्यन्त्र (कन्स्पिरेसी थ्योरी) भनेर चित्रण गर्न खोज्नु अनुचित भएको बताएकी छन्। जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित ‘जबजका तीन दशक’ गोष्ठीमा स्वागत मन्तव्य दिँदै उनले यस्तो धारणा व्यक्त गरिन्।

“४१ औं जन्मदिन पनि देख्न नपाई अप्रत्याशित रूपमा जानुभएका मदन भण्डारीका अधुरा सपना साकार पार्ने प्रयासस्वरूप फाउन्डेशनको स्थापना गरिएको हो,” उनले भनिन्, “यो कुनै अनौठो वा अस्वाभाविक कुरा होइन। यसलाई षड्यन्त्रको रूपमा चित्रण गर्नु आवश्यक छैन।”

उनले भावी पुस्ताले जनताको बहुदलीय जनवाद (जबज) लाई बुझ्न र अध्ययन गर्न पाओस् भन्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालयका ११ विभागसँग मिलेर स्नातकोत्तरदेखि विद्यावारिधिसम्म जबजबारे अनुसन्धान गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरिएको जानकारी दिइन्।

“जबजलाई मार्क्सवादको आधुनिक सिर्जनात्मक प्रयोगको रूपमा प्राज्ञिक अध्ययनको विषय बनाएर देशव्यापी बहस चलाउने तयारीमा छौं,” अध्यक्ष भण्डारीले थपे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *