डोल्पा। बिहीबार राति परेको अविरल वर्षाले डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा ठूलो क्षति पुर्याएको छ। पहिरोका कारण गाउँका ३ घर पूर्ण रूपमा पुरिँदा अन्य १२ घरमा मध्यम क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
बिहीबार राति साढे १२ बजेतिर बस्तीभन्दा करिब ५ सय मिटर माथिबाट खसेको लेदोसहितको पहिरोले बस्तीमा ठुलो विनाश गरेको हो। मोटरबाटो खन्दै गर्दा निस्किएको माटो र ढुङ्गाले लेदोको रूप लिएर बग्दा क्षति अझै बढेको अनुमान गरिएको छ।
घटनापछि काइके गाउँपालिका अध्यक्ष अंगद कुमार रानाको नेतृत्वमा स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोली स्थलगत अध्ययनका लागि घटनास्थल पुगेको छ। तत्कालीन राहत व्यवस्थापन अन्तर्गत खाद्यान्न र अस्थायी बासको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काका अनुसार, मानवीय क्षति भने नभएको र सबै स्थानीय समयमै सुरक्षित स्थानमा पुग्न सफल भएका छन्।
रिवा गाउँ सदरमुकाम दुनैबाट करिब ६–७ घण्टाको पैदल दूरीमा पर्छ। अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटिएको छ।




