काठमाडौं । सभापति रवि लामिछानेको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाइरहेको हस्ताक्षर अभियानप्रति नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सार्वजनिक रूपमै प्रश्न उठाएका छन्। उनले न्यायिक प्रक्रियालाई प्रभाव पार्ने उद्देश्यले यस्तो अभियान चलाइएको भन्दै आलोचना गरेका हुन्।
विश्वकर्माले सामाजिक सञ्जालमार्फत व्यंग्य गर्दै सोधेका छन् — “अदालतमा विचाराधीन विषयमा संसदमा त प्रश्न गर्न नपाइने संवैधानिक व्यवस्था छ भने अदालतको निर्णयविरुद्ध सडकमा गरिएको प्रदर्शन र हस्ताक्षर अभियानले कस्तो न्याय प्रणाली स्थापित गर्लारु”
उनको थप प्रश्न थियो, “नेपाली जनताले खोजेको नयाँ शक्ति भनेको यही हो त? अनि ती हस्ताक्षर बुझाउने कहाँ? त्यसपछि के निर्णय गर्ला?”
रास्वपाले पार्टी स्थापना दिवसको अवसरमा लामिछानेविरुद्धको मुद्दालाई ुप्रतिशोधपूर्णु भन्दै जनसमर्थन देखाउने उद्देश्यले हस्ताक्षर संकलन थालेको हो। तर राजनीतिक दलबाटै यस्तो अभियानको औचित्यमाथि उठेको प्रश्नले रास्वपाको रणनीति र यसका सम्भावित कानुनी प्रभावबारे बहस सुरु गरिदिएको छ। यो प्रकरणले देखाउँछ — न्यायालयको स्वतन्त्रतामाथि राजनीति मिसिन खोज्नु, ‘नयाँ राजनीति’को नाममा गरिएको कदम हो वा पॉपुलिज्मको नयाँ शैली ? त्यसको जवाफ अझै बहसकै विषय छ।




