लुम्बिनी। लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना मानिएको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य २५ प्रतिशत भौतिक प्रगतिको अवस्थामा पुगेको छ। पूर्वाधार विकास प्राधिकरणका अनुसार वित्तीय प्रगति भने करिब १६ प्रतिशत रहेको छ।
हाल मुख्य भवनको आधा हिस्सामा ‘बेसमेन्ट’ को काम सकिएको छ भने क्यान्सर भवनको फाउन्डेसन ढलान पनि पूरा भइसकेको छ। ‘लेफ्ट विङ’को ढलानको तयारी भइरहेको छ। प्राधिकरणका साइट इन्जिनियर शङ्कर सुवेदीले कुनै अवरोध बिना निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिएका छन्।
प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोखरेलका अनुसार आयोजना कार्ययोजनाअनुसार नै अघि बढेको छ। कुनै प्राकृतिक वा आर्थिक संकट नआएमा सम्झौता मिति भन्दा अगाडि नै काम सम्पन्न हुने लक्ष्य छ।
अस्पतालको निर्माणका लागि ६ अर्ब १८ करोड रुपैयाँमा सम्झौता भएको छ। भारतीय र नेपाली कम्पनीको संयुक्त लगानीमा निर्माण सुरु भएको यो भवन विसं २०८५ पुस २५ भित्र सम्पन्न गर्ने लक्ष्य छ। नयाँ भवनमा एक हजार २०० श्ययासहित आपत्कालीन उपचार, ओपिडी, इन्डोर सेवा र विभिन्न विशेषज्ञ सेवाहरू एकै छानामुनि रहनेछन्।
कुल १२ तले अस्पताल र क्यान्सर उपचार भवन निर्माणमा हाल २२० भन्दा बढी श्रमिक तथा १६ प्राविधिकको टोली खटिएको छ। निर्माण कार्यको प्रत्यक्ष सुपरिवेक्षण काठमाडौँ विश्वविद्यालय अन्तर्गतको युनिकन्सल्ट सेन्टरले गरिरहेको छ।
हाल अस्पतालमा दैनिक ३ हजार ओपिडी बिरामी सेवा लिन्छन् भने वार्षिक १० लाख भन्दा बढीले उपचार सेवा लिइरहेका छन्। अस्पतालमा ५२४ श्य्यामा सेवा सञ्चालनमा छ।




