गण्डकी प्रदेश

बर्खायाममा हवाई यात्रु घटेपछि पोखरा–जोमसोम उडान दुई महिनाका लागि स्थगित

मुस्ताङ।बर्खायाममा हवाई यात्रुको चाप घटेपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम हवाई उडान असारदेखि भदौसम्म दुई महिनाका लागि स्थगित गरेका छन्।

तारा एअरलाइन्सले असार २ गतेदेखि आफ्ना उडान स्थगित गरिसकेको छ। जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनका अनुसार मौसम प्रतिकूल र यात्रु संख्या कम भएका कारण सेवा बन्द गरिएको हो। कम्पनीले आगामी सेप्टेम्बरको पहिलो साता (भदौ अन्त्यतिर) उडान पुनः सुरु गर्ने जनाएको छ।

यसैगरी, समिट एअरलाइन्सले पनि यही असार २० गतेदेखि दुई महिनाका लागि उडान बन्द गर्ने निर्णय गरेको छ। जोमसोमस्थित समिट स्टेशन इञ्चार्ज सुमन थकालीले हाल दैनिक मुश्किलले एउटा उडान मात्रै भइरहेको र यात्रु घट्दै गएकाले यस्तो निर्णय गरिएको जानकारी दिनुभयो।

जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार मनसुन सुरु भएसँगै उडान प्रभावित हुन थालेको छ। उड्डयनसँगै सडकमार्गबाट जोमसोम पुग्ने पर्यटकको संख्या पनि घट्दै गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताए।

 

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *