देश

सलहेस सर्किटमार्फत लहानलाई धार्मिक–पर्यटकीय नगरी बनाउने प्रयास

सिरहा।लहान नगरपालिका–१६ मा अवस्थित ऐतिहासिक राजाजी डाँडा र आसपासका धार्मिक स्थललाई जोडेर सलहेस सर्किट निर्माण गर्ने योजनाले लहानको पर्यटकीय सम्भावना उजागर हुँदै गएको छ।

राजाजी डाँडा, जहाँ सलहेसका गुरु राजाजी बाबाको पूजा गरिन्छ, अहिले स्थानीय आस्था र नगरपालिकाको योजनाबीचको समन्वयमा धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै छ। इँटाको पुरानो मन्दिर, देव हाट, ऐतिहासिक इनारलगायत संरचना रहेको डाँडामा हाल रु २५ लाख लागतमा गहवर मन्दिर निर्माण भइसकेको छ।

नगरप्रमुख महेश चौधरीका अनुसार आगामी वर्ष झिझरी खोलाबाट डाँडासम्म सिँढी निर्माणको योजना छ। साथै, सलहेस फूलबारी, ब्रह्मनस्थान, मानिक दह, देवी दह, पकडिया गढलगायत सम्पदालाई जोडेर सलहेस सर्किट निर्माण गरिनेछ।

सलहेससँग सम्बन्धित पुरातात्विक स्थलको संरक्षण, मेला आयोजना, सडकमार्ग विस्तार, मन्दिर परिसर सुधार, पोखरी संरक्षणलगायतका काम भइरहेको छ। स्थानीय सरोकारवालाले एकीकृत गुरुयोजना निर्माण गरी लहानलाई समृद्ध धार्मिक–पर्यटकीय गन्तव्य बनाउनेमा जोड दिएका छन्।

नगरपालिका र प्रदेश सरकारको सहकार्यमा संरचनागत विकास भइरहेकाले लहान निकट भविष्यमा धार्मिक पर्यटनको प्रमुख केन्द्र बन्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *