कञ्चनपुर, दोधारा चाँदनी ।बाढीको जोखिममा रहेका कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रका घरहरूमा साङ्केतिक रातो झण्डा गाडिएको छ। टिनको छाना भएका कच्ची घरहरूको छानोमा हावासँगै फहराइरहेका यी झण्डाले विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ।
स्थानीय बासिन्दाहरूले उद्धारकर्मीलाई सहज बनाउने गरी प्रत्येक घरमा संकेतसहित झण्डा राखेका छन्। बालबालिका भएका घरमा बालबालिकाको चित्र, अपाङ्गता भएकामा त्यससम्बन्धी चिन्ह, वृद्धवृद्धा नभएका घरमा भने सादा रातो झण्डा गाडिएको स्थानीय रुपा सुनारले जानकारी दिइन्।
जोगबुडा र महाकाली नदीले घेरेको कुतियाकवरलगायतका बस्तीहरू प्रत्येक वर्ष बाढीबाट प्रभावित हुने गरेका छन्। सरकारले दोधारा चाँदनी–१० सहित सात वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि स्थानीयहरू आफैँ पूर्वतयारीमा जुटेका छन्।
स्थानीय निर्मला सुनारका अनुसार, कुतियाकवर, शान्ति टोल, सुर्खेती टोल, अठार नम्बर पिलर बस्ती, सुन्दरनगर, कञ्जभोज, बडुवाल टोल, ढकनाघाट, प्रगति टोल र पटराखल्ला लगायतका बस्तीमा जोखिमको पहिचान गरी संकेत झण्डा राखिएको छ।
वडाध्यक्ष चन्द्रबहादुर सिंहका अनुसार, दोधारा चाँदनी–१० मा हालसम्म ४५ घरमा संकेत झण्डा गाडिएको छ। बाढीको उच्च जोखिममा रहेको कुतियाकवर बस्तीमा हाल ३९ परिवार बसोबास गरिरहेका छन्। बाँकी परिवार भने भारततर्फ वा अन्य सुरक्षित स्थानमा विस्थापित भएका छन्।
महाकाली र जोगबुढा नदीको दोसाँधमा रहेको झण्डा गाडिएको क्षेत्र हरेक वर्ष जमिन कटानको समस्याबाट पीडित हुँदै आएको छ।




