विश्व

आइएइएको सहयोग स्थगन गर्ने पक्षमा इरानले गरेको मतदान ‘गलत सङ्केत’ : बर्लिन

जर्मनीले इरानलाई संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय (आइएइए)सँग काम गरिरहन आग्रह गर्दै इरानी सांसदहरूले आइएइएसँगको सहकार्य रोक्न गरेको मतदानलाई ‘पूर्णतया गलत सङ्केत’ को संज्ञा दिएको छ ।

जर्मनीले इरानी सरकारलाई यो बाटोमा नजान आग्रह गरेको विदेशमन्त्री जोहान बेडफुलले एक पत्रकार सम्मेलनमा बताउनुभयो ।
बेडफुलको यो टिप्पणी इरान र इजरायलबीच १२ दिनसम्म चलेको युद्ध र इरानको संसद्मा भएको मतदानको एक दिनपछि आएको हो । युद्धका क्रममा अमेरिकाले इरानी आणविक केन्द्र र इजरायलले इरानी आणविक केन्द्रका साथै अन्य स्थलमा आक्रमण गरेका थिए ।

इरानको सरकारी टेलिभिजनका अनुसार संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानको आणविक केन्द्रमाथि भएको आक्रमणको निन्दा गर्न समेत अस्वीकार गरेको र आफ्नो अन्तर्राष्ट्रिय विश्वसनीयता लिलामीका लागि राखेको बताउनुभएको छ ।
इरानी संसदको निर्णयका लागि अझै पनि इरानको गार्जियन काउन्सिलको अनुमोदन आवश्यक छ, जुन कानूनको परीक्षण गर्ने अधिकार प्राप्त निकाय हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता अमेरिका र इरानबीच वार्ता हुने बताएपछि वेडफुलले अमेरिका र इरानबीच वार्ता हुने ‘आशावादी सङ्केत’ देखिएको बताउनुभएको छ ।

क्यानडाका समकक्षी नेता अनिता आनन्दसँगको संयुक्त पत्रकार सम्मेलनमा वेडफुलले भन्नुभयो, “हामी जतिसक्दो चाँडो बाध्यकारी सम्झौताका लागि हाम्रा सबै कूटनीतिक प्रयासलाई अघि बढाइरहेका छौँ ।

बेलायत, फ्रान्स र जर्मनीको तथाकथित इ–३ समूहले कुनै पनि वार्तामा ‘केन्द्रीय भूमिका खेल्ने’ र ’इरानले स्पष्ट रुपमा युरोपेली घटकको सहयोग चाहेको’ उहाँले बताउनुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *