देश

माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा

काठमाडौं । माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययनको अवसर दिने सम्बन्धी समझदारी अन्तिम चरणमा पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटमा सो विषयमा छलफल भएको हो। भेटमा मन्त्री पौडेलले माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालका तर्फबाट सकारात्मक प्रगति भएको जानकारी गराए।

मन्त्री पौडेलले एमबीबीएससहित एमडी र एमएस तहमा माल्दिभ्सका विद्यार्थीलाई नेपालमा अध्ययन गराउने तयारी भइरहेको बताए। नेपाली विद्यार्थीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्ने विषयमा पनि परामर्श भइरहेको जानकारी उनले दिए।

भेटमा मन्त्री पौडेलले माल्दिभ्समा कार्यरत नेपालीहरूले रकम घर पठाउन कठिनाइ भोगिरहेको बताउँदै ध्यानाकर्षण गराए। जवाफमा माल्दिभ्सका राज्यमन्त्रीले उक्त विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर समाधान खोज्ने आश्वासन दिए।

नेपालले विदेशी विद्यार्थीलाई लक्षित गर्दै आवश्यक नीतिगत परिमार्जनको तयारी थालेको र यसअघि इण्डोनेसिया र जेनेभामा समेत सो विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ। माल्दिभ्सबाट आएको मस्यौदामा आवश्यक परिमार्जन गरी चाँडै सम्झौता गरिने तयारी भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *