चौमाला । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा एक वृद्ध पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्।
८० वर्षीय स्थानीय नयाँराम जैशी बुधबार साँझ करिब ५ः३० बजे आफ्ना भान्जा बर्मा भण्डारीको घरको आँगनमा मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार जैशीको शरीरमा कुनै स्पष्ट चोटपटक देखिएको छैन। तर, घटनालाई शंकास्पद मानी अनुसन्धान सुरु गरिएको छ।
मृतक र भण्डारीबीच आर्थिक लेनदेनको विषय जोडिएको हुँदा भण्डारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा मृत्युको कारण खुल्न नसकेको र थप परीक्षणपछि मात्र यकिन हुने जनाइएको छ।
प्रहरीले स्थानीयहरूसँग बयान लिने काम अघि बढाएको छ भने शवको पोष्टमार्टमका लागि तयारी भइरहेको छ। मृतकको पृष्ठभूमि, पारिवारिक सम्बन्ध र सम्भावित कारणबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।




