खेलकुद

मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता आजदेखि

महेन्द्रनगर (धनुषा)। जनकपुरधाममा आज (बिहीबार) देखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदैछ। मधेश प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी यो प्रतियोगिता मधेशको मौलिकता चिनाउने महत्वपूर्ण खेल भएको बताएका छन्।

कानुका अनुसार, प्रतियोगितामा हरेक प्रदेशबाट १२ जना खेलाडी सहभागी हुनेछन्, जसमा सातवटै प्रदेशका कबड्डी टोलीले सहभागिता जनाउनेछन्। शनिबारसम्म सञ्चालन हुने यस प्रतियोगिताका लागि मधेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले ५० लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार रुपैयाँ, दोस्रो हुने टोलीलाई २० हजार रुपैयाँ, र तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ पुरस्कार दिइने सदस्यसचिव कानुले जानकारी दिए।

सदस्यसचिव कानुले मधेश सुगम ठाउँ रहेकाले खेलकुदलाई जोड दिएमा यस क्षेत्रबाट खेलकुदमार्फत राष्ट्रको सम्पत्तिका रूपमा धेरै खेलाडी उत्पादन गर्न सकिने विचार व्यक्त गरे। यस प्रतियोगिताले क्षेत्रीय स्तरमा खेलकुदको विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *