देश

सरकारको काम सन्तोषजनक रहेको एमालेको निष्कर्ष

काठमाडौं। नेकपा (एमाले) ले सरकारको काम कारबाही सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। आज बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा सरकारको एक वर्षे कामको समग्र समीक्षा गरिएको थियो।

बैठकपछि जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले गत वर्ष असार ३१ गते गठित वर्तमान सरकारले राजनीतिक स्थायित्व, आर्थिक गति र जनताको विश्वास जगाउने उद्देश्य पूरा गरिरहेको बताए। “सरकारले लगभग एक वर्ष पूरा गर्न लागेको छ। यो अवधिमा राजनीतिक स्थायित्व बलियो भएको छ, जुन सबैभन्दा ठूलो उपलब्धि हो,” उनले भने।

ज्ञवालीका अनुसार अर्थतन्त्रले पनि विस्तारै लय समात्दै गएको निष्कर्ष पार्टीले निकालेको छ। “अघिल्लो सरकारले बनाएको बजेट कार्यान्वयन गर्दा अपेक्षित परिणाम आउन सकेन तर अहिलेको सरकार समग्र रूपमा सही दिशामा अगाडि बढिरहेको छ,” उनले उल्लेख गरे।

एमाले सचिवालयको बैठकमा पार्टीको आगामी कार्ययोजना, संगठनात्मक विषय र समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *