देश

इन्स्पेक्टरको बर्थडे पार्टीमा बलात्कार आरोपी देखिएपछि अनुसन्धान, एसपीको नेतृत्वमा छानबिन सुरु

काठमाडौं । सप्तरीमा प्रहरी इन्स्पेक्टरको जन्मदिन पार्टीमा बलात्कार मुद्दामा सफाइ पाएका व्यक्ति देखिएपछि प्रहरी संगठनमा नै विवाद चुलिएको छ। सार्वजनिक भएको तस्बिरमा प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन मनाउन डीएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा आयोजित पार्टीमा आरोपी आकाश आदर्श सहभागी देखिएपछि छानबिन प्रक्रिया सुरु भएको हो।

मधेस प्रदेश प्रहरी कार्यालयले प्रारम्भिक रूपमा आचरणविपरीत देखिएको भन्दै प्रहरी उपरीक्षक (एसपी)नारायण रञ्जितकारको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। डीआईजी उमाप्रसाद चर्तुवेदीका अनुसार दोष देखिए कारबाही सिफारिस गरिनेछ।

बलात्कार मुद्दा २०८१ कात्तिक २० मा दर्ता भई २०८२ जेठ ४ मा जिल्ला अदालत सप्तरीले आकाशलाई सफाइ दिएको थियो। त्यसको भोलिपल्टै उनी अनुसन्धान अधिकृत इन्स्पेक्टर श्रेष्ठसँग जन्मदिन पार्टीमा देखिए। यस विषयमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रश्न उठेपछि प्रहरी महानिरीक्षक ९आईजीपी० दीपक थापाले मधेस प्रदेश प्रहरी कार्यालयलाई तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।

सम्बन्धित इन्स्पेक्टरको सरुवा भइसकेको भए पनि पार्टीको तस्बिर हालै बाहिरिएपछि सार्वजनिक आलोचना चर्किएको छ। प्रहरी संगठनभित्र मुद्दा सम्बन्धी व्यक्तिसँग देखिएको यस्तो सामीप्यता नीतिविपरीत भएको भन्दै विभागीय कारबाहीको संकेत पनि दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *