खेलकुद

दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरी सेवाबाट राजीनामा दिएका छन्।

प्रहरी सहायक हवल्दार पदमा कार्यरत ऐरीले केही दिनअघि राजीनामा दिएका हुन्। नेपाल प्रहरीका प्रवक्ता डिआईजी विनोद घिमिरेले ऐरीको राजीनामा स्वीकृत भएको पुष्टि गरेका छन्।

क्रिकेटको टि-२० अन्तर्राष्ट्रियमा लगातार ६ छक्का प्रहार गर्दै विश्व रेकर्ड कायम गरेपछि उनलाई २०८० साल असोजमा सहायक हवल्दारमा विशेष बढुवा गरिएको थियो।

२०७३ सालमा प्रहरी जवानमा भर्ती भएका ऐरी करिब सात वर्षपछि सहायक हवल्दारमा बढुवा भएका थिए। तर, २ वर्ष नपुग्दै उनले प्रहरीको जागिर छोड्ने निर्णय गरेका हुन्।

दीपेन्द्र ऐरीले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका थिए। उनकै नेतृत्वमा पुलिस क्लबले लगातार उपाधि जित्दै घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *