देश

संसदीय समितिमा अख्तियार विधेयकमा प्रश्नको वर्षा

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयकको अवस्था बारे चासो व्यक्त गर्दै पारित भइसकेको विधेयक कहाँ हरायो ? भनेर प्रश्न उठाएका छन्।

बुधबारको समितिको बैठकमा प्रहरी विधेयकमाथि छलफल भइरहेका बेला माओवादी केन्द्रकी सांसद दुर्गा राईले अख्तियार विधेयकको खोजी गरिन्। उनले ६ महिनाअघि सर्वसम्मत पारित भइसकेको विधेयक अझै अघि नबढाइएकोप्रति आपत्ति जनाउँदै सो विधेयक किन रोकिएको हो भनी प्रश्न गरिन्।

राईले नीतिगत निर्णयका आधारमा भ्रष्टाचारको मुद्दा चलाउने कि नचल्ने भन्ने विषय विवादित बन्दै गइरहेका बेला सम्बद्ध विधेयक रोकिनु विडम्बनापूर्ण भएको टिप्पणी गरिन्। “भ्रष्टाचार रोक्ने भन्दैछौं, तर त्यसैका लागि आवश्यक विधेयक अघि नबढाउने किन?” उनले भनिन्।

उनले निजामती सेवा विधेयकको प्रक्रियामा पनि ढिलाइ भएको भन्दै कुलिङ पिरियडको प्रावधान ल्याउँदा कार्यसूचीबाट हटाइएको विषयमा असन्तुष्टि पोखिन्। “हामीलाई विधेयक पास गर्न ढिला नगर्नुहोस्, सभापतिज्यूले नसक्नुभयो भने हामी आफैं अघि बढ्छौं,” भन्दै राईले कार्यशैलीप्रति स्पष्ट असहमति जनाइन्।

बैठकले विधेयकहरू समयमा अघि नबढ्दा विधायन प्रक्रिया प्रभावहीन बन्दै गएको भन्दै, संसदलाई विधेयक पारित गर्न सक्रिय भूमिका लिनुपर्ने माग गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *