कोशी प्रदेश

धरान उपमहानगरपालिका–१६ मा निर्माणाधीन प्रहरी चौकीको काम मेयर हर्कराज साम्पाङको निर्देशनमा स्थगित

काठमाडौं । धरान उपमहानगरपालिका–१६ मा निर्माणाधीन प्रहरी चौकीको काम मेयर हर्कराज साम्पाङको निर्देशनमा स्थगित गरिएको छ। बहुभाषिक पाठशालाको परिसर नजिकै चौकी निर्माणले शैक्षिक वातावरणमा असर पार्न सक्ने भन्दै उनले भौतिक पूर्वाधार मन्त्रालय, कोशी प्रदेशलाई पत्र लेखी काम रोक्न आग्रह गरेका हुन्।

प्रदेश सरकारको बजेटबाट निर्माण हुँदै गरेको सो भवनको काम रोकिएको पुष्टि गर्दै सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले भने, “स्थानीय आवश्यकता अनुसार विभिन्न वडामा प्रहरी चौकीका भवनहरू बनाइँदै आएका छन्, तर हाल मेयरले १६ नं वडाको चौकी निर्माण रोक्न आदेश दिनुभएको छ।”

निर्माण ठेक्का पाएका व्यवसायी योगेश खतिवडाले समेत मेयरको निर्देशनकै कारण निर्माण कार्य रोकिएको बताएका छन्।

धरानका मेयर साम्पाङले मन्त्रालयमा पठाएको पत्रमा भनिएको छ, “डिजाइन र स्थानको विषयमा नगरपालिकासँग पर्याप्त समन्वय नगरी निर्माण कार्य अघि बढाइएकोले यसले पाठशालाको उद्देश्य र वातावरणमा नकारात्मक प्रभाव पार्न सक्छ।”

स्थानीय बहुभाषिक पाठशालाको शैक्षिक उद्देश्यलाई प्राथमिकता दिँदै नगरपालिकाले प्रहरी चौकी निर्माणको स्थान पुनर्विचार गर्न आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *