काठमाडौं । नेपाल शिक्षक महासङ्घका पदाधिकारीहरूले सोमबार माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी शिक्षकहरूसँग भएको सरकारी सहमति कार्यान्वयन नहुँदा उत्पन्न असन्तोषबारे गुनासो गरेका छन्।
प्रचण्ड निवास खुमलटारमा भएको भेटमा महासङ्घका प्रतिनिधिहरूले सरकार सहमतिप्रति उदासीन देखिएको भन्दै ती सहमतिहरू तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको सहयोग अपेक्षा गरिएको बताएका थिए।
शिक्षकहरूको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रको स्थायित्व र शिक्षकको सम्मान सुनिश्चित गर्नु अनिवार्य भएको बताए। “शिक्षकहरू राष्ट्र निर्माणका मेरुदण्ड हुन्, उनीहरूप्रति राज्य जिम्मेवार बन्नुपर्छ,” प्रचण्डले भने।
उनले प्रारम्भिक बाल विकास कक्षालाई विद्यालय संरचनाभित्र समावेश गर्नुपर्ने आवश्यकता पनि औँल्याउँदै शिक्षकका न्यायोचित मागहरू पूरा गर्न आफ्नो तर्फबाट हर सम्भव पहल गर्ने प्रतिबद्धता जनाए।
प्रचण्डले थपे, “हामीले संसद अवरोध हटाउने निर्णय शिक्षकका मागमाथि बहस नै हुन नसक्ने अवस्था सिर्जना नहोस् भनेर लिएका हौं। अब सरकारसँग शिक्षकका मुद्दा टार्न बहाना बाँकी छैन।”
शिक्षक महासङ्घले पनि भेटका क्रममा शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन र विगतमा भएका सहमतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिएको थियो।




