देश

६१ किलो सुन प्रकरण: अमला रोकाको थुनछेक बहस अल्झियो, मुद्दा फेरि हेर्दाहेर्दैमा

काठमाडौं  । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाविरुद्धको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। अब यो मुद्दामा भोलि पुनः सुनुवाइ हुने भएको छ।

न्यायाधीश बलराम लम्सालको इजलासमा चलिरहेको थुनछेक बहस आज निष्कर्षमा नपुगेपछि मुद्दा स्थगित गरिएको हो। अदालतमा उपस्थित सरकारी वकिल र प्रतिवादी पक्षका बहस लामो भएपछि आज फैसला सुनाउन सकिएको छैन।

रोल्पा थवाङ गाउँपालिका–२ की रोका, सुन तस्करी मुद्दामा लामो समयदेखि फरार रहँदै आएकी थिइन्। उनलाई प्रहरीले टोखा क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। काठमाडौंको ठमेलमा ‘भियना होटल’ सञ्चालन गर्दै आएकी रोका, तिब्बती मूलका बेल्जियम नागरिक तथा मुख्य आरोपी दावा छिरिङकी पत्नी हुन्। दावा छिरिङ पहिले नै पक्राउ परिसकेका छन्।

रोका विरुद्ध २०२३ सेप्टेम्बर ६ मा पक्राउ पुर्जी जारी गरिएको थियो, र पछि सन् २०२४ जनवरी १९ मा इंटरपोल डिफ्युजन नोटिस जारी भएको थियो। लामो समय पछि पक्राउ परेकी रोकाको थुनछेक बहसमा अदालतले अझै कुनै निष्कर्ष निकालेको छैन।

सुन तस्करी जस्तो संगठित अपराधमा संलग्न ठानिएकी व्यक्तिको थुनछेक बहस पटक–पटक लम्बिँदा न्याय प्रक्रिया ढिलो हुने चिन्ता बढ्दो छ। अब अदालतले यथाशक्य छिटो निष्कर्ष निकाल्ने कि फेरि सुनुवाइ लम्ब्याउने—जनचासो यसमा केन्द्रित हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *