देश

एनओसी ठगीमा संलग्नलाई कारबाही गर्न सरकारसमक्ष नेविसंघको माग

काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) वितरण प्रक्रियामा व्यापक अनियमितता र ठगी भइरहेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

बिहीबार जारी विज्ञप्तिमा नेविसंघले एनओसी प्रकरणमा भएका घुस, कागजात किर्ते, ठगी र प्रक्रियागत अन्यायलाई गम्भीर आपराधिक गतिविधिका रूपमा व्याख्या गर्दै सम्बन्धित कर्मचारीहरूलाई मन्त्रालयकै संरक्षण रहेको आशंका समेत प्रकट गरेको छ।

“शिक्षा मन्त्रालयको मातहतको निकायमै यस्तो सञ्जाल सञ्चालन हुनु र बिचौलिया हावी हुनु केवल प्रशासनिक असक्षमता होइन, शिक्षा क्षेत्रको नैतिक पतनको संकेत हो,” विज्ञप्तिमा उल्लेख छ। नेविसंघले एनओसी प्रणालीलाई डिजिटल, पारदर्शी, विद्यार्थीमैत्री र ट्रयाक गर्न सकिने बनाउँदै पूर्ण पुनःसंरचना गर्नुपर्ने माग समेत अघि सारेको छ।

विदेश जान तम्सेका हजारौं विद्यार्थीहरू प्रक्रियागत सास्ती, अनावश्यक झन्झट र भ्रष्टाचारको जालोमा फस्दा सरकार र शिक्षा मन्त्रालयको भूमिकामाथि प्रश्न उठाउँदै नेविसंघले छानबिन समितिको प्रगति रिपोर्ट सार्वजनिक गर्न दबाब दिएको छ।

“छानबिन समितिहरू केवल औपचारिकता र ढाकछोपका लागि बनाइने हो भने विद्यार्थीप्रति यो गम्भीर धोका हुनेछ,” नेविसंघको आरोप छ।

एनओसीमा व्यापक सुधारको माग गर्दै गरिएको यो हस्तक्षेपले विद्यार्थीहरूका साझा पीडालाई उजागर मात्र गरेको छैन, शिक्षा प्रशासनभित्र गहिरो संरचनात्मक समस्या रहेको संकेत पनि दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *