काठमाडौं । भारतले पहलगाम आतङ्कवादी आक्रमणका मास्टरमाइन्ड भनेर आरोप लगाउँदै आएको पाकिस्तानी सेनापति जनरल आसिम मुनिरलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा दिवाभोजका लागि आमन्त्रित गरेपछि दक्षिण एशियाली कूटनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ।
अमेरिकी भ्रमणमा रहेका मुनिरसँग राष्ट्रपति ट्रम्पले आज दिउँसो १ बजे (स्थानीय समय अनुसार) ‘लञ्च मिटिङ’ गर्ने तय भएको छ। पाकिस्तानी सेनापतिलाई यति उच्च तहको सम्मानका साथ अमेरिकी राष्ट्रपति भवनमा स्वागत गरिएको घटना इतिहासमै दुर्लभ मानिएको छ।
यसपटकको भेटलाई भारतले गम्भीर चासोका साथ नियालिरहेको छ। विशेषगरी, केही दिनअघि मात्र अमेरिकी राष्ट्रपतिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३५ मिनेट लामो टेलिफोन वार्ता गरेकाले, पछिल्लो भेटले दुई छिमेकी देशबीचको समिकरणमा प्रभाव पार्न सक्ने आँकलन गरिएको छ। मोदी र ट्रम्पबीचको संवाद जी-७ सम्मेलनमा भेट हुन नसकेको सन्दर्भमा भएको थियो।
रणनीतिक ‘टाइमिङ’: इरान–इजरायल युद्धको छायाँमा
यो वार्ता इरान–इजरायल युद्ध चुलिँदै गएको संवेदनशील समयमा हुन लागेको छ। पाकिस्तान स्वयं इरानको छिमेकी हो र दुबै देशका सैन्य नेतृत्वबीच हालै संवाद भएको थियो। त्यसैले अमेरिकी रणनीतिक चासोमा पाकिस्तानको भूमिका के हुने भन्ने प्रश्न उठेको हो।
कश्मिर, क्रिप्टो र खनिज?
दक्षिण एशिया मामिलाका जानकार माइकल कुगलम्यानका अनुसार जनरल मुनिरसँगको यो भेट ऐतिहासिक मात्र होइन, बहुआयामिक पनि हुनेछ। उनका अनुसार वार्ताको विषय खनिज सम्पदा, क्रिप्टो मुद्रा र कश्मीर मामिलाको अन्तर्राष्ट्रियकरण प्रयाससँग जोडिएको हुनसक्छ।
भारतले जसलाई आतंकको योजना बनाउने आरोप लगाउँदै आएको छ, त्यही व्यक्ति अमेरिकाको सर्वोच्च कार्यकारीसँग वार्तामा सहभागी हुनु स्वयंमा धेरै संकेतहरू बोकेको छ।
विश्लेषक कुगलम्यान भन्छन्, “ह्वाइट हाउसको आतिथ्यको मापन कूटनीतिक तराजुमा गहिरो छ। यसले आगामी महिनाहरूमा अमेरिकी रणनीति कुन दिशातर्फ मोडिन सक्छ भन्ने कुराको सङ्केत दिन सक्छ।”




