देश

इजरायल–इरान युद्ध: नेपालीको सुरक्षा र उद्धारमा सरकारको ध्यानाकर्षण

काठमाडौँ। इजरायल र इरानबीचको युद्ध चर्कँदै जाँदा त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि तत्काल कूटनीतिक पहल गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसदहरूले नेपाल फर्किन चाहने नेपालीहरूसँग तत्काल सम्पर्क राखी उनीहरूलाई स्वदेश फर्काउने पहल गर्न आग्रह गरेका हुन्। साथै, सम्भावित खतराबाट सतर्क रहन सरकारलाई सचेत गराइएको छ।

नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा स्पष्ट जानकारी दिन माग गरिन्। उनका अनुसार, युद्धले ती क्षेत्रमा रहेका करिब सात हजार नेपाली इजरायली र एक दर्जन इरानी भूमिमा असुरक्षित स्थितिमा परेका छन्।

नेकपा (एमाले)की सांसद भगवती न्यौपानेले सरकारलाई तत्काल उद्धार प्रक्रिया थाल्न आह्वान गर्दै भनिन्, “सरकारले केही कदम चालेको भए पनि अझ कूटनीतिक तहमा प्रभावकारी समन्वय गरिनुपर्छ।”

नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले गणतन्त्रप्रति राजावादीहरूको नकारात्मक प्रचारप्रति असन्तुष्टि जनाउँदै भने, “यो देश हामीले बनाएका हौं, राजा हामीले हटाएका हौं—अब राजा फर्कन सक्दैन।”

नेकपा (माओवादी केन्द्र)का सांसद भुवनबहादुर सुनारले मधेशका जनताले सामाजिक न्यायबाट वञ्चित भइरहेका भन्दै सरकार मौन बसिरहेको आरोप लगाए। जनता समाजवादी पार्टीकी सांसद पूजा चौधरीले कर्मचारी व्यवस्थापन सुधार र स्थानीय तहको सेवा अवरुद्ध नहुने नीति निर्माणमा सङ्घीय सरकार गम्भीर बन्नुपर्ने धारणा राखिन्।

यसैबीच, माओवादी केन्द्रकै सांसद विष्णुबहादुर विश्वकर्माले कर्णालीमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् र खाद्यान्न जस्ता पूर्वाधार विकास भइरहेको उल्लेख गर्दै यो वर्तमान राजनीतिक व्यवस्थाको उपलब्धि भएको दाबी गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *