काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले ल्याएको बजेटले पनि युवा पलायनको समस्या सम्बोधन गर्न नसकेको बताए।
उनले भने, “भोलिको उज्यालो, सम्मानको आशामा बाँचेका छौं। तर युवा शिक्षाको नाममा, रोजगारीको नाममा, दलालीको नाममा देश छाड्दैछन्। विदेशमा गएर पनि उनीहरूले यहाँभन्दा बढी दुःख भोगिरहेका छन्। यस्तो अवस्था भयो भने यो बजेट केका लागि हो?”
भण्डारीले गाउँ तथा सहरहरूमा युवाको अभाव भयावह अवस्थामा पुगेको उल्लेख गर्दै थपे, “सहर जाँदा बाआमा मात्रै हुनुहुन्छ। मृत्यु भयो भने लाश लैजान मान्छे छैन।”
कर्मचारीप्रतिको निर्भरता र राजनीतिक नेतृत्वको कमजोरीप्रति आक्रोश व्यक्त गर्दै उनले भने, “एउटा कर्मचारीले ‘यो कुरा विधेयकमा राख्नु, नत्र राजीनामा दिन्छौं’ भन्दा देशको नेतृत्व थरथर काम्छ। नेतृत्वले डराउन हुने होइन।”
उनले वर्तमान राजनीतिक नेतृत्व भाषणबाजीमै सीमित रहेको आरोप लगाउँदै भने, “भाषणले औषधि दिन्छ? भाषणले देश उज्यालो बनाउँछ? भाषणले विदेशिएका युवालाई फर्काउँछ? मैले देश बुझ्न सकिनँ, नेतृत्व बुझ्न सकिनँ।”
सांसद भण्डारीले नेपालको राजनीति आत्मकेन्द्रित भएको उल्लेख गरे।“जहाँसुकै पुगे पनि आफू मात्रै बन्ने प्रवृत्ति हावी छ,” उनले भने, “हामीकहाँ दृष्टिकोण नै छैन, नेतृत्वमा चिन्तनको अभाव छ।”




