देश

युद्धको असर : रासायनिक मलको लागत मूल्य २० प्रतिशतले बढ्ने

काठमाडौं ।इजरायल र इरानबीच जारी युद्धका कारण रासायनिक मलको लागत मूल्यमा २० प्रतिशतसम्म वृद्धि हुने भएको छ। युद्धले मल उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा अवरोध सिर्जना गर्दा मूल्य वृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य प्रतिमेट्रिक टन एक सयदेखि १५० अमेरिकी डलरसम्म बढ्ने देखिएको छ। यसले स्थानीय बजारमा समेत प्रत्यक्ष असर पार्नेछ।

यो वर्ष नेपालले पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने लक्ष्य राखेको भए पनि लागत बढ्दा निर्धारित कोटा अनुसार मल आयात गर्न कठिन हुन सक्ने मन्त्रालयको भनाइ छ।

हाल अन्तर्राष्ट्रिय बजारमा युरिया मलको मूल्य प्रतिक्विन्टल ४०० अमेरिकी डलर रहेकोमा नेपाल आइपुग्दा सोही मल ५०० अमेरिकी डलर पर्ने गरेको छ। त्यस्तै, डिएपी मलको मूल्य नेपालमा प्रतिक्विन्टल ९०० अमेरिकी डलर पुगेको छ।

इरान युरिया मल उत्पादन गर्ने प्रमुख देशमध्ये एक भएकाले युद्धले उत्पादनमा समेत असर पार्ने अनुमान गरिएको छ। युद्ध लम्बिँदै गएमा मलको मूल्यवृद्धिसँगै आपूर्तिमा पनि थप समस्या देखिनसक्ने मन्त्रालयले चेतावनी दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *