काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थी भिसा प्रक्रिया पुनः सुरु गरेको घोषणा गरेको छ। तर अब सबै भिसा आवेदकले आफ्ना सामाजिक सञ्जाल खाताहरू सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
एजेंसीका अनुसार, बुधबार सार्वजनिक सूचनामार्फत विभागले गत मे महिनामा लगाइएको विद्यार्थी भिसा प्रक्रियाको निलम्बन हटाइएको जानकारी दिएको हो।
विदेश मन्त्रालयका अनुसार, कन्सुलर अधिकारीहरूले अब भिसा आवेदकका सामाजिक सञ्जाल पोस्ट र सन्देशहरू अध्ययन गरी उनीहरूले अमेरिकाको सरकार, संस्कृति, संस्था वा संस्थापक सिद्धान्तहरू प्रतिको धारणा मूल्यांकन गर्नेछन्।
यदि कुनै आवेदकले सामाजिक सञ्जाल खाताहरू सार्वजनिक गर्न अस्वीकार गरेमा भिसा आवेदन अस्वीकृत हुन सक्नेछ। विभागले यस्तो अस्वीकारलाई ‘आवश्यक जानकारी लुकाउने प्रयास’ का रूपमा व्याख्या गर्ने उल्लेख गरेको छ।
गत महिना ट्रम्प प्रशासनले विद्यार्थी भिसाका अन्तर्वार्ता तालिका अस्थायी रूपमा स्थगित गरेको थियो। सामाजिक सञ्जाल जाँच प्रक्रिया विस्तार गर्न खोजिएकै कारण यो कदम लिइएको बताइएको थियो।
यस नयाँ प्रक्रियाका कारण विश्वभरका विद्यार्थीहरू अमेरिकी कन्सुलर कार्यालयबाट भिसा अन्तर्वार्ताका अपोइन्टमेन्ट कहिले खुल्छन् भनेर प्रतीक्षामा छन्।
टोरन्टोमा बस्ने २७ वर्षीय चिनियाँ पीएचडी विद्यार्थी चेनले बुधबार आगामी हप्ताको लागि भिसा अन्तर्वार्ता समय पाएका छन्। उनले भने, “म साँच्चै ढुक्क भएँ। मैले हरेक दिन वेबसाइट धेरै पटक रिफ्रेस गरिरहेको थिएँ।” उनी जुलाईको अन्त्यमा सुरु हुने अनुसन्धान इन्टर्नशिपका लागि अमेरिका जान चाहन्छन्।
विदेश विभागको विज्ञप्तिअनुसार, नयाँ निर्देशिकाले विद्यार्थी र आदानप्रदान कार्यक्रमका सहभागीहरूमाथि ‘पूर्ण छानबिन’ गर्न कन्सुलर अधिकारीहरूलाई निर्देशन दिएको छ।
अन्तर्राष्ट्रिय विद्यार्थीमाथिको दबाब
अन्तर्राष्ट्रिय विद्यार्थीहरू पछिल्लो समय अमेरिका भित्र अध्ययन गर्न थप चुनौतीको सामना गरिरहेका छन्। केही समयअघि ट्रम्प प्रशासनले हजारौं विद्यार्थीको अनुमति रद्द गरेको थियो— जसमा कतिपय सामान्य ट्राफिक उल्लंघनमा मात्र मुछिएका थिए। यद्यपि, पछि केही निर्णयहरू उल्टाइएका थिए।
त्यसका साथै, प्रशासनले विदेशी विद्यार्थीको कानुनी स्थिति खारेज गर्ने आधारसमेत फराकिलो बनाएको छ। हार्वर्डजस्ता प्रतिष्ठित शिक्षण संस्थालाई लक्षित गरी विदेशी विद्यार्थीहरूलाई आइभी लीग स्कुलहरूमा प्रवेश गर्नबाट रोक्ने प्रयाससमेत गरिएको थियो।
यात्रुहरूको छानबिन कडा बनाउन ट्रम्प प्रशासनले ३६ देशलाई प्रतिबद्धता जनाउन आग्रहसमेत गरेको छ। अन्यथा, ती देशका नागरिकलाई अमेरिकामा प्रवेश निषेध गरिने चेतावनी दिइएको छ।




