काठमाडौं । कैलालीमा आपराधिक ग्याङबीचको द्वन्द्व जेलको पर्खाल भित्रै पुगेको छ। नन्दु सरकार ९नवीन रावल० र जयन्द्र शाह समूहबीचको दुश्मनी खुकुरी र गोलीसम्म पुगेपछि सुरक्षा निकायहरू अलर्ट भएका छन्। जेलमा थुनिएको भए पनि नन्दु सरकार समूहले बाहिर आक्रमण जारी राखेको खुलेको छ।
हालै नन्दु सरकार समूहका सदस्य रिदम ढुंगाना र मिलन चन्दलाई टीकापुरमा जयन्द्र समूहका मानस विष्टमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको थियो। यो घटना दुई ग्याङबीचको पुरानो बदलाको निरन्तरता हो।
कैलालीमा चार प्रमुख ग्याङ—नन्दु सरकार, जयन्द्र समूह, कोब्रा सरकार, र इगल ग्याङ सक्रिय छन्। यी ग्याङहरूले ठेक्कापट्टा, चन्दा असुली, र आक्रामक अपराधमार्फत प्रभुत्व जमाउँदै आएका छन्। पहिले एउटै समूहमा रहेका जयन्द्र शाह र नवीन रावलबीचको कमिसन विवादले दुई ग्याङमा विभाजन भएको थियो।
नन्दु सरकार समूहका १९ जना सदस्य भुपेन्द्र बडुवाल हत्याकाण्डमा जेल चलान भइसकेका छन्, तर जेलभित्रैबाट समूह सञ्चालन भइरहेकाले उनीहरूको सरुवा गरेर तीनवटा भिन्न कारागारमा पठाइएको छ।
कोब्रा सरकार समूह पनि पछिल्ला केही घटनामा नन्दु सरकारसँग मिलेर कार्य गरिरहेको खुलेको छ। विद्युत प्राधिकरणका कर्मचारीमाथिको खुकुरी आक्रमणदेखि अपहरण र अमानवीय व्यवहारसम्म उनीहरूको संलग्नता देखिएको छ।
यता, इगल समूह सानोतिनो भए पनि विस्तार हुँदै गएको भन्दै प्रहरी सतर्क देखिएको छ। सुरक्षाविद्हरू भन्छन्—यदि तुरुन्तै नियन्त्रणमा नलिए, इगल समूह पनि भविष्यमा अर्को नन्दु वा जयन्द्र समूह बन्ने खतरा छ। कैलालीको शान्ति सुरक्षा यस्ता संगठित ग्याङहरूको कारण उच्च जोखिममा परेकाले प्रहरी प्रशासनलाई थप कडा कदम चाल्न दबाब बढेको छ।




