काठमाडौं । नेपाल आयल निगममा झन्डै ३० वर्ष समर्पित सेवा दिएर विभिन्न जिम्मेवारी सम्हाल्दै आएका नायब कार्यकारी निर्देशक इन्जिनियर विरेन्द्र गोइत अनिवार्य अवकाशमा गएका छन् । नायब कार्यकारी निर्देशक गोइतको २०८२ साल असार ५ गतेदेखि अवकासमा जाने भएकाले निगम तथा कर्मचारीहरुले बुधबार विदाई गरेका हुन् ।
गोइतले २०५२ साल जेठ १ गतेदेखि स्थायी सेवामा प्रवेश गरी निगमको विभिन्न क्षेत्रीय कार्यालय, इन्धन डिपो तथा केन्द्रीय कार्यालयमा रही प्रभावशाली नेतृत्व गर्दै आएका थिए। उनले आफ्नो कार्यकालमा आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै दूरदर्शि सोचका साथ निगमलाई हरेक संकटको समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै निगमलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
विदाई कार्यक्रममा इन्जिनियर विरेन्द्र गोइतले भने, “मैले जीवनका तीन दशक नेपाल आयल निगममा समर्पित गरेँ। यो यात्रामा मैले धेरै सिकेँ, धेरै चुनौतीहरू भोगेँ, र ती चुनौतीहरूबाट धेरै कुरा बुझ्ने अवसर पाएँ। निगममा काम गर्दा जुन जिम्मेवारी पाएको थिएँ, त्यो सदैव निष्ठा, इमानदारी र व्यवसायिक अनुशासनका साथ पुरा गर्ने प्रयास गरें। संकटको बेलामा पनि हामीले सहकर्मीहरूको साथ, समर्पण र साझा प्रतिबद्धताले निगमलाई अघि बढायौं।
मेरो कामको सफलतामा हरेक सहकर्मीको हात छ। आज म शारीरिक रूपमा संस्थाबाट अलग हुँदैछु, तर मन र भावनात्मक रूपमा सधैं यो संस्थासँग जोडिएको रहनेछु। अबको यात्रामा म नयाँ अनुभव र शान्त जीवनको खोजीमा छु। तर जहाँसम्म सकिन्छ, मेरो अनुभव र सल्लाहको खाँचो परेमा सधैं तयार रहनेछु।”
भारतीय अघोषित नाकाबन्दीको कठिन समय होस् वा निगमको आर्थिक संकटका चरणहरूमा—इन्जिनियर गोइतको संयम र सूझबुझपूर्ण निर्णयले पेट्रोलियम आपूर्ति व्यवस्थापनलाई सुचारु राख्न ठूलो भूमिका खेलेको थियो। उनले बजार व्यवस्थापनमा रहदाँ निगमलाई अनुशासन, उत्तरदायित्व र व्यावसायिकताको संस्कारको विकास गराउन भूमिका खेलेका थिए ।
निगमका कर्मचारीहरूबीच हामी गर्वका साथ आयल निगमका सदस्य हौं भन्ने भावना स्थापित गराउनमा पनि गोइतको योगदान उल्लेखनीय रह्यो। गोइतको बिदाइसँगै निगममा एक अनुभवी मार्गदर्शक अभाव खड्किनेछ । अवकाश पछिको इन्जिनियर गोइतको सेवा निवृत्त जीवन सफल, स्वस्थ, समृद्ध र सुखद रहोस् भन्ने संकल्प खबर परिवार कामना गर्दछौँ ।












