काठमाडौं। काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दायर गरेको रिटमाथि उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशहरू ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलास नं. ९ मा सुनुवाइ भएको उक्त रिटमा अदालतले पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गरेको हो। पाण्डेले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन निर्णयविरुद्ध अदालतमा रिट दायर गरेका थिए।
रिटमा पाण्डेले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत गुरागाईं, महानगर प्रहरी बलका निमित्त प्रमुख विष्णु जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएका छन्।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालयमा हाजिर हुन लाग्दा पाण्डे नेतृत्वको प्रहरी टोलीले अवरोध गरेको घटनालाई आधार बनाई गुरागाईंले उनलाई निलम्बन गरेका थिए।
घटनापछि महानगरपालिकाले प्रशासन प्रमुख ध्रुव काफ्लेको संयोजकत्वमा जाँचबुझ समिति पनि गठन गरिसकेको छ।




