देश

मितेरी सहकारीको बचत अपचलनका आराेपी भण्डारीलाई आज कम्बोडियाबाट ल्याइँदै

काठमाडौँ ।ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीमा करोडौं रकम अपचलन गरेको आरोप लागेका ज्योतिबहादुर भण्डारीलाई आज (बुधबार) राति कम्बोडियाबाट काठमाडौं ल्याइँदैछ।

अध्यागमन विभाग स्रोतका अनुसार भण्डारीलाई सिंगापुर एअरलाइन्समार्फत सिंगापुर हुँदै काठमाडौं ल्याइँदैछ। भण्डारी सवार विमान राति ९:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।

‘रेड नोटिस’ सूचीमा रहेका भण्डारी पक्राउ
सहकारी अपचलन प्रकरणमा मुछिएका भण्डारी र तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ फरार भएपछि उनीहरूलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत ‘रेड नोटिस’मा सूचीकृत गरिएको थियो। उनीहरू फरार रहेकै बेला सहकारीमा ठगी भएको सार्वजनिक भएको हो।

ज्योति गुरुङ नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङकी श्रीमती हुन्। उनी मितेरी सहकारीमा केही वर्षअघि महाप्रबन्धकको रूपमा कार्यरत थिइन्। सोही अवधिमा सहकारीको ठूलो मात्रामा बचत रकम अपचलन भएको आरोप लागेको हो।

पूर्वलाहुरेहरूको सहकारीमा ठगी
मितेरी सहकारी बेलायती तथा भारतीय सेनाबाट अवकाशप्राप्त लाहुरेहरूको पहलमा स्थापना गरिएको हो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा बर्दियाका स्थायी बासिन्दा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीले मिलेमतोमा रकम अपचलन गरेको ठहर गरेको छ।

श्रीलंकाको कोलम्बोसम्म पुगेको अनुमान गरिएका भण्डारीलाई इन्टरपोलको समन्वयमा पक्राउ गरेर नेपाल ल्याउन नेपाल प्रहरीको एक टोली एसपीको नेतृत्वमा कम्बोडिया गएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *