देश

भोटेकोशी–सुनकोशी आसपास सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौं। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रहरूमा बाढीको सम्भावित जोखिम रहेका कारण सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा जारी सूचनामा भनिएको छ, “मिति २०८२ असार ३ गतेदेखि ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको सूचनापछि भोटेकोशी र सुनकोशी नदी आसपासमा जोखिम हुन सक्ने देखिएको छ।”

चीनको प्रहरी कार्यालयमार्फत प्राप्त सूचनाका आधारमा उक्त सम्भावित बाढीको जोखिमको जानकारी दिइएको हो। प्रशासनले विशेषगरी भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सूचनामा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सरुवा हुने, सावधानीपूर्वक गतिविधि सञ्चालन गर्ने र प्रशासनको सूचनालाई गम्भीरतापूर्वक लिने अनुरोध गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *