देश

सभापति देउवाद्वारा नेता शास्त्रीलाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ।

आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले स्वर्गीय शास्त्रीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै यही असार ४, ५ र ६ गते पार्टीको केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ५ गते सबै कार्यालय बन्द गरिनेछ। साथै स्वर्गारोहणको १३औँ दिनसम्म शोक पुस्तिका राखिने र त्यस दिन सम्बन्धित जिल्लामा शोकसभा आयोजना गरिनेछ।

८९ वर्षका शास्त्रीको असार २ गते काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। बैठकमा उहाँको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो।

विद्यार्थी जीवनदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएका शास्त्रीले प्रजातन्त्र पुनःस्थापनाका संघर्षमा जेल जीवन र लामो भारत प्रवाससमेत गर्नुभएको थियो। उहाँ जननायक बिपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक तथा प्रजातान्त्रिक समाजवादका व्याख्याता हुनुहुन्थ्यो।

विसं १९९३ जेठ २५ गते अर्घाखाँचीको किमडाँडामा जन्मनुभएका शास्त्री विसं २०४८ र २०५१ को आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

पार्टीले उहाँको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा र योगदानप्रति उच्च सम्मान प्रकट गर्दै एक अनुभवी, बौद्धिक र अग्रज नेताको निधनले ठूलो क्षति पुगेको जनाएको छ।

आजै पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो। महामन्त्री गगनकुमार थापा, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. शशाङ्क कोइराला, गोपामान श्रेष्ठ, डा. मीनेन्द्र रिजाललगायत नेताहरूले पनि श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो।

पार्टी कार्यालयका अनुसार शास्त्रीको अन्त्येष्टि आजै पशुपतिस्थित आर्यघाटमा सम्पन्न गरिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *