काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले आँधी खोला संरक्षण अभियानमा सक्रिय दुई अभियन्तामाथि सार्वजनिक रूपमा रड प्रहार गरेका छन्। घटना शुक्रबार वालिङ–९, सुर्कौदीमा विरोध कार्यक्रम सकेर फर्किँदै गरेका अभियन्ता दिनकर नेपाल र मेघ आलेमाथि भएको हो।
दुबै अभियन्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हुन्, भने वडाध्यक्ष खनाल नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। घटनाले स्थानीय तहको नेतृत्वप्रति गम्भीर प्रश्न उठाएको छ।दिनकर नेपालका अनुसार उनीहरू आँधी खोलाको दोहनविरुद्ध गरिएको विरोध कार्यक्रम सकेर मोटरसाइकलमा फर्किरहेका थिए। “सुर्कौदीमा मोटरसाइकल रोकेर अचानक फलामको रडले वडाध्यक्षले प्रहार गर्नुभयो,” दिनकरले भने, “हेलमेटले ज्यान जोगियो, तर हातमा चोट लागेको छ।”
साथी मेघ आलेलाई भने वडाध्यक्षले धकेलेर नालीमा लडाइदिएको पीडित पक्षको आरोप छ। “कुनै बहस वा बोलचाल विना आक्रमण गरिएको हो,” आलेले घटनाबारे प्रतिक्रिया दिंदै बताए। घटनास्थलमा उपस्थित व्यक्तिहरूका अनुसार वडाध्यक्ष खनालले लाठी–रडजस्ता हतियार प्रयोग गरेर कुटपिट गरेका थिए। दिनकर नेपालको हेलमेटको सिसा फुटेको छ, जुन हमला कित्तासहितको प्रमाणको रूपमा देखाइएको छ। केही बेरपछि दुई जना प्रहरी घटनास्थलमा पुगे पनि वडाध्यक्ष त्यहाँबाट निस्किसकेका थिए।
यो घटना केवल दुई अभियन्तामाथिको कुटपिट मात्र होइन, जनप्रतिनिधिले जनताको सरोकारमाथि जबरजस्ती थोपरेको ुदबाबु को संकेत पनि हो। पर्यावरण संरक्षणका पक्षमा आवाज उठाउनु गैरकानुनी हैन, तर त्यसको जवाफ लाठी र रडबाट दिने शैली लोकतान्त्रिक मर्यादाविरुद्ध हो। जनप्रतिनिधिबाट यस्तो प्रकारको हिंसात्मक व्यवहार आउनु लोकतन्त्रको आत्मामा नै आघात हो।
जनता र नेतृत्वबीचको दूरी घटाउने भन्दै आएका दलहरू र तिनका प्रतिनिधिबाट आएको यो व्यवहारले नागरिक समाजलाई निराश बनाएको छ। अब यो घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही अपरिहार्य देखिन्छ। आँधी खोला संरक्षणको मुद्दा अब थप गहिरो भयो—किनकि त्यसको आवाज दबाउने प्रयासले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र जनसरोकारका विषयमा गम्भीर प्रश्न खडा गरिदिएको छ।




