देश

काठमाडौँ नजिकै ‘वनजङ्गल एडभेञ्चर’ साहसिक पर्यटन गन्तव्यको रूपमा विकास

काठमाडौँ । काठमाडौँ उपत्यकानजिक तारकेश्वर नगरपालिका–३ स्थित पाँचमानेमा ‘वनजङ्गल एडभेञ्चर’ साहसिक पर्यटन गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

यहाँ जिपलाइन, रक क्लाइमिङ, बञ्जी जम्प लगायतका गतिविधिमा सहभागी हुन उपत्यका बाहिरका आन्तरिक पर्यटकसमेत आउन थालेका छन् । काठमाडौँमै यस्तो गन्तव्य विकास भएपछि टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

रिङरोडबाट १० किलोमिटरको दूरीमा रहेको पाँचमानेस्थित गन्तव्यमा पुग्दा हरियाली वातावरण र स्वच्छ हावाको समेत अनुभव गर्न सकिन्छ । वनजङ्गल एडभेञ्चरका सञ्चालक एलिसा ढकालका अनुसार आठ महिनाअघि सेवा सुरु गरिएको गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढ्दो छ ।

ढकालले एडभेञ्चर खेलका लागि विशेष प्याकेज तयार गरी काठमाडौँका पर्यटकलाई लक्षित गरेर सेवा दिइएको बताए । समयको बचत, फरक अनुभव र सुविधा पाउँदा यहाँ आउने पर्यटकको संख्या बढ्दै गएको उनको भनाइ छ ।

३० रोपनी क्षेत्रफलमा फैलिएको वनजङ्गल एडभेञ्चरमा जिपलाइन, रोलर कोस्टर, क्लाइमिङ वाल, अब्स्ट्याकल कोर्स, हाइरोप कोर्स, किड्स एडभेञ्चर कोर्स, जिपलाइन ट्रिपटप एडभेञ्चर र जाइन्ट स्वीङ लगायतका गतिविधि छन् । नेपालमै पहिलोपटक फलामको डण्डामा चक्का राखी तयार गरिएको रोलर कोस्टर पनि यहाँ उपलब्ध छ ।

पर्यटकका लागि ११ वटा टेन्ट र एक मौलिक नेपाली घरमा बस्ने व्यवस्था गरिएको छ । सो घरमा ढिकी, जाँतो, हलो लगायत परम्परागत कृषि सामग्री प्रदर्शनमा राखिएको छ ।

ढकालका अनुसार झन्डै छ करोड रुपैयाँ लगानीमा आफ्नै जग्गामा पूर्वाधार निर्माण गरिएको हो । खेल सञ्चालनका लागि पर्यटन विभागबाट अनुमति लिइएको र प्रत्येक खेलाडीको बीमा गरिएको जानकारी पनि उनले दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *