काठमाडौं । इजरायलको भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला इजरायल–इरान युद्ध चर्किएपछि त्यहीँ अड्किएका छन्। सीमा नाका र विमानस्थल बन्द भएकाले उनी निर्धारित मितिमा नेपाल फर्कन नसकेको जानकारी आएको छ।
मेयर कोइराला असार २० गते नेपाल फर्किने तालिकासहित इजरायल पुगेका थिए। उनी सहकारी अभ्यास अध्ययनका लागि सो देश गएका थिए। तर इरान–इजरायल तनाव उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय आवागमन रोकिएको छ।
कोइरालाले स्थानीय ‘सेफाइम’ नामक स्थानमा आफू सुरक्षित रहेको जनाएका छन्। राजधानी तेलअभिबबाट करिब ३० किलोमिटरको दूरीमा रहेको यो स्थान हाल जोखिम क्षेत्रको रुपमा चिनिएको छ। उनले खतराको संकेत दिँदै बज्ने साइरनको आवाजसँगै बंकरमा लुक्नुपरेको बताए।
वर्तमान परिस्थितिमा कोइरालाको सुरक्षित अवस्थाबारे बुझ्न परराष्ट्रमन्त्री आरजु राणा देउवा र इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोनमार्फत सम्पर्क गरेका छन्। उनी नेपालबाट अध्ययन भ्रमणमा गएका एक्ला जनप्रतिनिधि हुन्।
फिर्तीको मिति कहिले हुने भन्नेबारे अझै केही तय हुन सकेको छैन। युद्धको प्रभाव झन् गहिरिँदै गएपछि कोइरालाको फिर्ता अब कूटनीतिक पहल र परिस्थितिको सहजतामा निर्भर देखिएको छ।




