देश

कोदोको परिकार उत्पादन तालिममा कक्षा १२ का विद्यार्थीको सहभागिता, व्यवसायिक उत्साह बढ्यो

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै कोदोको बिस्कुट, कुकिज, पाउरोटी, निम्की, मफिन लगायतका परिकार उत्पादन, ब्राण्डिङ र प्याकेजिङसम्बन्धी सातदिने तालिम सम्पन्न गरेको छ।

नगरपालिकाको वडा नं ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजना गरिएको तालिममा १२ जना विद्यार्थी र एक महिला उद्यमी सहभागी थिए। तालिममा सहभागीहरूले उत्पादन गरेका परिकार समापन कार्यक्रममा प्रदर्शन गरिनुका साथै स्वाद परीक्षणसमेत गरिएको थियो।

त्रिधार्मिकस्थल हलेसीमा आउने भक्तजनलाई कोसेलीको रूपमा कोदोका परिकार उपलब्ध गराउने उद्देश्यले तालिमको आयोजना गरिएको वडाध्यक्ष कमल गिरीले जानकारी दिए। नगरपालिकाले प्रशिक्षार्थीले उत्पादन गरेका परिकार खरिद गरी ‘कोसेली घर’मार्फत विक्री तथा वितरण गर्ने योजना बनाएको छ।

काठमाडौँबाट झिकाइएको खाद्य प्राविधिक आर्जन गौतमको सहजीकरणमा सञ्चालन भएको तालिम निःशुल्क प्रदान गरिएको थियो।

नगरप्रमुख विमला राईका अनुसार तालिमले युवालाई सीप र आत्मविश्वास दुवै दिएको छ। “कोदोको पोषण, स्वाद र प्रयोगशैली उजागर गर्दै स्थानीय बालीलाई आम्दानीको स्रोतमा रूपान्तरण गर्ने प्रयास हो,” उनले भनिन्।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङमा उत्पादन हुने कोदो खेतीलाई संरक्षण र बजारीकरणसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। नगरपालिकाले तालिमले स्थानीय कृषि, रोजगारी र पोषण सुरक्षामा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *