काठमाडौं ।थाइल्याण्डको फुकेटबाट भारतको दिल्लीतर्फ आउँदै गरेको एयर इन्डियाको एक उडानले बमको धम्की पाएपछि आपतकालीन अवतरण गरेको छ।
मिडिया रिपोर्टहरू अनुसार, एयर इन्डियाको उडान नम्बर ३७९ मा १५६ यात्रु सवार थिए। शुक्रबार फुकेटबाट उडेको विमानलाई अण्डमान सागरको आसपास घुमेपछि स्थानीय समयअनुसार बिहान ११:४० बजे फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन रूपमा अवतरण गराइएको हो।
फ्लाइट ट्र्याकिङ प्लेटफर्म फ्लाइटराडार२४ का अनुसार, विमानले दिउँसो १२:४० बजे नयाँ दिल्ली अवतरण गर्ने तालिका थियो। तर बमको सम्भावित खतरा देखिएपछि सुरक्षाका दृष्टिले विमान गन्तव्यतर्फ जान नदिई फिर्ता ल्याइएको थियो।
विमान अवतरण गरेपछि सम्पूर्ण यात्रुहरूलाई सुरक्षितरूपमा बाहिर निकालिएको र सुरक्षाकर्मी तथा अनुसन्धान टोलीले विमानमा खोजतलास तथा आवश्यक प्रक्रिया अघि बढाएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।




