देश

कञ्चनपुरमा बाढी पूर्वतयारीको नमूना अभ्यास, सामुदायिक सक्रियता बढ्दै

कञ्चनपुर।कृष्णपुर नगरपालिका–२ अठन्नीफाँटामा बाढीजन्य विपद् व्यवस्थापनमा सामुदायिक सक्रियता बढेको देखिएको छ। ‘जलवायु उत्थानशील समुदाय कार्यक्रम’ अन्तर्गत बिहीबार वनहरा नदीमा कृत्रिम बाढी घटना नमूना अभ्यास गरिएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सिकोरको साझेदारीमा आयोजित कार्यक्रममा पूर्वसूचना, उद्धार र प्राथमिक उपचार कार्यदलले विपद् आउनुअघि, दौरान र पछिका कार्यहरू व्यवहारिक रूपमा प्रदर्शन गरे।

कार्यक्रम संयोजक महेश घिमिरेका अनुसार समुदायमा साइरन, माइकिङ, मोबाइल सन्देश र सूचना केन्द्रमार्फत सतर्कता बढाइएको छ। उद्धार कार्यदलले बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्ने अभ्यास गर्‍यो।

साथै, प्राथमिक उपचार कार्यदलले घाइतेहरूको उपचार, रक्तश्राव नियन्त्रण र औषधोपचारका अभ्यास देखायो। विपद् सम्पर्क व्यक्ति प्रेम बोगटीले समन्वययुक्त तयारीले मानवीय क्षति कम हुने बताए।

यस कार्यक्रमअन्तर्गत कृष्णपुर र दोधारा चाँदनी क्षेत्रका बाढी प्रभावित बस्तीमा पनि यस्तै अभ्यासहरू गरिएका छन्। उद्देश्य प्राकृतिक विपद्का खतरालाई न्यून गर्दै जनधनको सुरक्षामा जोड दिनु रहेको आयोजकले जनाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *