मुख्य समाचार

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

काठमाडौँ । बेलायतीसरह समान पेन्सनलगायत भूतपूर्व गोर्खा सैनिकका मागहरूका सम्बन्धमा करिब एक वर्षपछि बेलायती पक्षसँग वार्ता भएको छ। बिहीबार लन्डनमा भएको छलफलमा बेलायतले सकारात्मक जवाफ दिएको नेपाली राजदूतावासका उपप्रमुख विपिन दुवाडीले बताए।

उपप्रमुख दुवाडी, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका अधिकारी तथा भूतपूर्व गोर्खा प्रतिनिधि संलग्न वार्तामा बेलायतले मागका बारेमा सकारात्मक प्रतिक्रिया दिँदै पर्याप्त गृहकार्य गरेर अर्को बैठक बस्न सहमति जनाएको हो।

“बेलायती पक्ष सकारात्मक छ,” उपप्रमुख दुवाडीले  भने, “पेन्सन लिने कति भूपूगोर्खा छन्, कति रकम आवश्यक पर्छ? लगायत विषयमा अध्ययन गरी अर्को वार्तामा बस्ने सहमति भएको छ।”

गोर्खा भूतपूर्व सैनिक सङ्घका सभापति कृष्णकुमार राईले विगतका वार्ताहरूमा भूतपूर्व गोर्खाका हितका विषयमा मात्र छलफल हुने गरेकोमा यसपटक समान पेन्सनका सम्बन्धमा पनि वार्ता भएको र पर्याप्त गृहकार्यसहित अर्को बैठक गर्नेगरी छलफल टुङ्गिएको जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *