देश

हनी ट्रयापमार्फत ५० लाखको सौदाबाजी : प्रेम र ब्ल्याकमेलको जालमा सुनचाँदी व्यवसायी, तीन जना पक्राउ

काठमाडौं । पोखराका एक सुनचाँदी व्यवसायीलाई हनी ट्रयापमा पारेर ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। प्रेम सम्बन्धको बहानामा मोरङबाट पोखरा बोलाइएकी युवती र उनका दुई साथीले मिलेमतोमा व्यवसायीलाई ब्ल्याकमेल गरेर रकम असुल्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ टुटुङ्‍गा बस्ने २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोक घर भएका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी छन् । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो। कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी हरि बस्नेतले जानकारी दिए।

कसरी भयो योजनाबद्ध फसाउने खेल ?
पक्राउ परेकी मरियम राई सुनचाँदी पसलमा काम गर्थिन्।
प्रहरीका अनुसार, उनले आफैंले काम गर्ने पसलका सञ्चालकलाई प्रेम र बलात्कारको आरोपमार्फत ब्ल्याकमेल गर्ने योजना बनाइन्। सहभागी देव लिम्बु मरियमका प्रेमी हुन्, जसलाई मोरङबाट पोखरा बोलाइएको थियो।

पक्राउ परेका पुरुषद्वयले व्यवसायीकी श्रीमतीलाई धम्की दिँदै ‘जीवनभरको सम्पत्ति’ मागेका थिए। तपाईंका श्रीमान्ले बलात्कार गरे, भनी उनीहरू मुद्दा हाल्ने धम्की दिँदै रकम माग्न पुगेका थिए। कास्की प्रहरीले ब्ल्याकमेल योजनासम्बन्धी अडियो रेकर्ड समेत बरामद गरेको छ। सूचनाको आधारमा निगरानीमा राखिएको टोलीले तीनै जनालाई हनी ट्रयाप र बार्गेनिङको प्रमाणसहित नियन्त्रणमा लिएको हो। यो घटना हनी ट्रयापका नाममा बढ्दो सामाजिक अपराध र व्यक्तिगत सम्बन्धको दुरुपयोगमार्फत गरिने आर्थिक शोषण को एउटा ताजो उदाहरण बनेको छ। प्रहरीले घटनाको थप पृष्ठभूमि र संलग्न अन्य व्यक्ति खोज्न अनुसन्धानलाई थप विस्तारित गरिरहेको जनाएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *