विश्व

इन्टर्न डाक्टर बस्ने होस्टलमा ठोक्किएको थियो विमान, धेरै हताहत भएको आशंका

काठमाडौँ । भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान अहमदाबाद सिभिल अस्पतालका इन्टर्न डाक्टरहरू बस्ने घरमा ठोक्किएको पाइएको छ ।

इन्टर्न डाक्टरहरूको होस्टेलमा विमान ठोक्किएकोले त्यहाँ बस्ने डाक्टरहरु पनि हताहत भएको हुनसक्ने आशंका गरिएको छ । भारतीय मिडियाहरुले सो होस्टेलमा ५० देखि ६० इन्टर्न डाक्टरहरू रहेको दाबी गरेका छन् । उनीहरुको अवस्था बारे स्पष्ट जानकारी आएको छैन ।

विमानमा लागेको आगोको धुवाँले होस्टेलको भवन पूर्ण रूपमा कालो भएको छ र जताततै भग्नावशेष मात्र रहेको रिपोर्टमा उल्लेख छ ।

एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार रहेको एयर इन्डियाले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *