कर्णाली। कर्णाली प्रदेशभर पछिल्ला छ दिनमा फरार रहेका २७ जना अभियुक्त पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार विभिन्न जिल्लामा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत अदालतबाट सजाय पाएका तर फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरिएको हो।
प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार पक्राउ परेका अभियुक्तहरू अदालतको फैसला कार्यान्वयनबाट उम्किरहेका थिए। विशेष निगरानी, सुराकी र रणनीतिक अनुसन्धानको आधारमा उनीहरूलाई पक्राउ गरी सम्बन्धित अदालतमा पेश गरिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका अभियुक्तहरूमाथि अदालतबाट तोकिएको ३२ वर्ष ११ महिना २० दिन कैद र रु २३ हजार १०० जरिवाना आदेश रहेको प्रहरीले जनाएको छ।
अदालतको आदेश कार्यान्वयन गर्दै न्याय सम्पादनमा सहयोग गर्ने उद्देश्यसहित फरार अभियुक्त खोजी अभियानलाई थप तीव्र बनाइएको प्रहरीले जनाएको छ। साथै, प्रहरीले फरार अभियुक्तबारे जानकारी भएमा सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ।




