
काठमाडौँ । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पुनः माओवादीप्रति बढ्दो भरोसालाई २०६४ सालको जस्तो विचलनमा पर्न नदिने दाबी गरेका छन् ।
पार्टीको पोखरा महानगरपालिकाको तेस्रो सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले विगत कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा नयाँ अभियानका साथ अगाडि बढ्ने स्पष्ट पारे ।
‘मैले ०६४ तिरै जनता फर्किँदै गरेको, माओवादीले मात्रै हाम्रा मुद्दाहरूलाई, हाम्रा हकहितहरूलाई सही ढंगले सम्बोधन गर्न सक्छ भन्ने महसुस गरेको मैले थाहा पाएको छु,’ उनले भने, ‘हामीले जनताको त्यो भरोसा, त्यो विश्वासलाई ०६४ जस्तो विचलित हुन दिने छैनौँ, चौसट्ठी जस्तो विभाजित हुन दिने छैनौँ । बरु सम्पूर्ण इमानदार, प्रगतिशील र क्रान्तिकारी शक्तिलाई एकजुट बनाएर नयाँ अभियान चलाउनेछौँ ।’
उनले अघिल्ला निर्वाचनहरूमा माओवादीले प्राप्त गरेको अपार समर्थनलाई कायम राख्न नसकिएको स्वीकार गरे । ‘हामी पहिलो शक्तिबाट तेस्रोमा झर्यौँ, त्यो हाम्रो कमजोरी थियो,’ उनले भने, ‘मैले स्वयं शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता र गणतन्त्रको घोषणा गर्ने नेतृत्वकर्ता हैसियतमा जिम्मेवारी लिनुपर्छ ।’