देश

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभाव

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित वृन्दावन सामुदायिक (छाडा) चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभावले बायोग्यास प्लान्ट निर्माणको कार्य हुन सकेको छैन ।

व्यवस्थापन केन्द्रमा संरक्षण गरेर राखिएका ३०० गाईलगायत चौपायाबाट निस्कने मलमूत्रको प्रयोग गरी बायोग्यासको प्लान्ट निर्माण गर्ने योजना अघि सारिए पनि बजेट नहुँदा बन्न सकेको छैन । ‘बायोग्यास प्लान्टसँगै गँड्यौला राखेर प्राङ्गारिक मल उत्पादन गरी किसानलाई सहज मूल्यमा उपलब्ध गराउने योजना अघि सारेका थियौँ,’ वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, ‘बजेट अभावले बन्न सकेको छैन, व्यवस्थापन केन्द्रमा रहेका चौपायाको मल एकातर्फ र मूत्र अर्कोतर्फ जम्मा हुनेगरी निर्माण हुने संरचना निर्माण गर्न सकेका छैनौँ ।’

उनका अनुसार व्यवस्थापन केन्द्र नजिकै किरियापुत्री घर निर्माण गर्ने योजना रहेको छ । ‘गाईको गोबर, गहुँत सहजै उपलब्ध हुने र नजिकै नदी भएकाले किरिया पुत्रीलाई सहजता हुन्छ, त्यही भएर किरियापुत्री घर निर्माण गर्ने योजना बनाएका छौँ, यसका लागि प्रदेश र सङ्घीय सरकारलाई गुहार्छौं’, उनले भने ।

नदीले व्यवस्थापन केन्द्रको जग्गा बर्सेनि भू–क्षय गरी बगाउँदै आएकाले भरपर्दो तटबन्धको आवश्यकता भएको उनले उल्लेख गरे ।

नगरपालिकाबाट प्रत्येक वर्ष विनियोजन हुने ३० लाख बजेट व्यवस्थापन केन्द्रमा राखिएका चौपायाको दानापानी, पराल, ब्रान, नुनसँगै गौसेवकको तलबमै बजेट सिद्धिने गरेको उनी बताउछन् ।

केन्द्रमा आठ जना गौसेवक कार्यरत रहेका छन् । व्यवस्थापन केन्द्रमा तीन करोड ५० लाखका सङ्घीय र प्रदेश सरकारको सहयोगमा भौतिक संरचना निर्माण गरिएका छन् ।

चार वटा पक्की गाईलगायतका चौपाया बाँध्ने गोठ, दुई वटा चारोलगायत सामग्री राख्नका लागि निर्माण गरिएका गोदाम घर, एक आवाससहितको कार्यालय भवन, समरसेल, स्यालो ट्युबेल जडान गरिएको छ । योसँगै पाँच वटा अटोजन नल्का, चार वटा सौर्य बत्ती, दुई वटा सिसी क्यामेरा र डेढ किलोमिटर क्षेत्रमा तारवार जडानको कार्य गरिएको छ ।

माछापोखरी निर्माण गरी माछापालनको कार्यसमेत गरिएको छ । चौपाया व्यवस्थापन केन्द्रलाई कृषि र पशुपालनको नमूना क्षेत्रका रूपमा विकसित गरी पर्यापर्यटनसँग जोड्नुपर्ने समाजसेवी हबलदार चौधरी बताउछन् । ‘व्यवस्थापन केन्द्र नजिकै पुरैना ताल छ’, उनले भने, ‘व्यवस्थापन केन्द्र अवलोकन गर्न आउने आगन्तुकलाई घुमाउन सकिन्छ, यसका लागि डिपिआर निर्माण गरी योजनाबद्ध रूपमा कार्य अगाडि बढाउन आवश्यक छ ।’ पालिका र प्रदेश सरकाले समन्वय गरी कार्य अगाडि बढाउनुपर्ने सुझाव उहाँको छ ।

सामुदायिक चौपाया व्यवस्थापन केन्द्र पाँच हेक्टर जग्गामा फैलिएको छ । गौशालामा रहेका चौपायालाई खुवाउनका लागि १० कट्ठा जग्गामा घाँसखेती गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *