
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको जानकारी गराए। उनले भने, “विगतका कमजोरी सच्याएर समाजवादी क्रान्तिलाई नयाँ चरणमा पुर्याउने हाम्रो अभियानमा म सबैलाई जोडिन आग्रह गर्छु।”
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहितका नेताहरूले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए। अध्यक्ष प्रचण्डले उनीहरूलाई स्वागत गर्दै यस प्रकारको समायोजनले पार्टीलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे।
उनले माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्दै, पार्टीमा आउने नयाँ सदस्यहरूलाई जिम्मेवारीसहितको स्थान दिइने पनि स्पष्ट पारे।