
चितवन । यहाँस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निस्केका फोहोरलाई पर्यावरणमैत्री रूपमा व्यवस्थापन गर्दै आएको छ। अस्पतालले फोहोरको स्रोतमा नै वर्गीकरण गरी दुई प्रविधि र अन्य विधि प्रयोग गरेर व्यवस्थापन गर्दै आएको छ।
अस्पतालले पुनः प्रयोग हुने वस्तुलाई अलग्गै, कुहिने वस्तुबाट बायोग्यास, माइक्रो वेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिनबाट फोहोरलाई घटाएर निःसङ्क्रमित बनाउने गरेको अस्पतालका बायोमेडिकल इञ्जिनियर रुपेश मिश्रले जानकारी दिए। उनका अनुसार अस्पतालको फोहोर व्यवस्थापन प्रणालीमा मुख्यतया दुईवटा प्रविधि प्रयोग गरिएको छ। बायोग्यास प्लान्टबाट वार्डहरूबाट निस्कने खानाका फोहोरलाई कुहाएर बायो ग्यास उत्पादन गरिन्छ।
माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिन अस्पतालको बायोमेडिकल फोहोर प्रशोधन गर्ने मुख्य उपकरण हो। अस्पतालबाट निस्कने सिसा, धारिलो वस्तु (निडल, सर्जिकल ब्लेड), कपडाका टुक्रा र प्लास्टिकजस्ता सबै प्रकारका फोहोर मिसाएर राख्न सकिन्छ। यो मेसिनको क्षमता २५० लिटर रहेको उनले जानकारी दिए। मिश्रले भने, ‘यसले करिब ३० मिनेटमा फोहोरलाई प्रशोधन गर्छ। मेसिनभित्र रहेको स्रेडर ब्लेडले फोहोरलाई सानो टुक्रा बनाउँछ र सँगै रहेको इन्टिग्रेटेड माइक्रो वेभ टेक्नोलोजीले यसलाई स्टेरिलाइज (निसङ्क्रमण) गर्छ।’
प्रशोधनपछि निस्कने फोहोर चिन्न नसकिने धुलोको टुक्रा हुने गर्छ। यस प्रक्रियाबाट फोहोरको आयतन ८५ प्रतिशत र तौल २५ प्रतिशतसम्म घट्ने उनले जानकारी दिए। यो प्रविधि पुराना इन्सिनेरेटरको तुलनामा वातावरणीय रूपमा बढी सुरक्षित मानिएको बताइन्छ। माइक्रो वेभ टेक्नोलोजी आफैँमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदूषण नल्याउने मिश्रले बताए। मेसिनबाट निस्कने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको छ।
अस्पतालबाट दैनिक ४० देखि ६० किलो फोहोर संकलन हुने गरेको छ। हुन्छ। यो फोहोरलाई रङअनुसार डस्टबिनमा वर्गीकरण गरी माइक्रो वेभ मेसिनमा प्रशोधन गरिन्छ। वार्डहरूबाट फोहोर संकलन गर्ने बेलादेखि नै कलर कोडिङअनुसार (रातो, हरियो डस्टबिन) फोहोर छुट्याइन्छ। त्यसपछि संकलनस्थलमा ल्याएर थप सेग्रिगेसन गरिन्छ र प्रशोधनका लागि पठाइन्छ। कर्मचारीहरूका लागि पञ्जा, मास्क, हेल्मेट, गमबुट र छुट्टै पोशाकसहित आवश्यक सुरक्षा उपकरण उपलब्ध गराइएको उनले बताए। यद्यपि फोहोर व्यवस्थापनमा प्रत्यक्ष संलग्न कर्मचारीलाई निरन्तर एउटै काममा खटाउनुको साटो हरेक ६ महिनामा जिम्मेवारी परिवर्तन (रोटेसन) गर्नेबारे पनि अस्पताल व्यवस्थापनले विचार गर्नुपर्ने उनको भनाइ छ।
अस्पतालले हालको फोहोर व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न तरल (लिक्विड) फोहोर व्यवस्थापनका लागि पनि छुट्टै प्लान्ट राख्ने योजना रहेको उनले जानकारी दिए।