
कीर्तिपुर (काठमाडौँ)।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ राष्ट्रिय महाधिवेशन आज कीर्तिपुरमा सुरु भएको छ।
महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा संगठनको आगामी नेतृत्व चयन र नीति तथा कार्यक्रमको समीक्षा गरिनेछ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले शैक्षिक समस्या समाधान गर्दै देश विकासको मार्गमा अगाडि बढ्न महाधिवेशनले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
नेपाल विद्यार्थी सङ्घका सभापति डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनबारे उठेका नकारात्मक टिप्पणीहरूको सामूहिक प्रतिवाद आवश्यक रहेको बताए।
त्यस्तै, राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा र विद्यार्थी सङ्घ–सङ्गठनहरू युवाका मुद्दामा एकजुट हुनुपर्नेमा जोड दिए।
अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामाले गणतन्त्र विरोधी शक्तिहरूको सङ्गठित प्रतिवाद आवश्यक रहेको धारणा व्यक्त गरिन्।