देश

‘प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ’

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षको बजेटलाई बढीभन्दा बढी प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै बजेट निर्माणमा जुटिएको जानकारी दिए।

“बजेट निर्माणका क्रममा गलत उद्देश्य र मनसाय राखेर संवाद गर्ने जोकोहीलाई कानुनी कारबाही गरिनेछ,” उहाँले चेतावनी दिँदै भन्नुभयो, “शून्य सहनशीलताको नीति लिएको प्रदेश सरकारलाई यस्ता किसिमका गतिविधि क्षम्य हुने छैनन्।”

मुख्यमन्त्री शाहले सुशासन, जनमुखी र जनउत्तरदायी शासन प्रणालीमार्फत प्रदेशको समग्र विकास र समृद्धि हासिल गर्ने लक्ष्यका साथ प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेको बताए।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले घोषणा गरेका चार बुँदे प्रतिबद्धतालाई यस वर्ष २०८२/८३ को बजेटमार्फत निरन्तरता दिँदै प्रभावकारी रूपमा कार्यान्वयन गरिने पनि उहाँले उल्लेख गरे।

बजेट विनियोजनसम्बन्धी नीति स्पष्ट पार्दै मुख्यमन्त्री शाहले भन्नुभयो, “प्रदेश सरकारले कार्यान्वयन गर्ने योजनाका लागि न्यूनतम रु २५ लाखभन्दा माथिको बजेट सिलिङ कायम गरिनेछ। यदि त्यसभन्दा कम बजेट आवश्यक परेमा भने कार्य योजनासहित सशर्त अनुदानका रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिनेछ।”

उहाँका अनुसार अबदेखि प्रदेश सरकारले व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी वा सहकारी संस्थालाई तोकेर बजेट विनियोजन गर्ने छैन। साथै, प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगरिने नीतिगत निर्णय लिइएको पनि मुख्यमन्त्री शाहले स्पष्ट पारे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *