देश

प्रतिनिधिसभामा थन्किएका महत्वपूर्ण विधेयकको प्रतीक्षामा राष्ट्रियसभा

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नीति निर्माणको महत्वपूर्ण थलो भएकोले जनचाहना र भावनाअनुरूप अघि बढ्नुपर्ने बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस)सँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा सञ्चालन नहुँदा सङ्घीयता र संविधान कार्यान्वयनसँग सम्बन्धित सङ्घीय निजामती, प्रहरी, विद्यालय शिक्षाजस्ता अत्यन्त महत्वपूर्ण विधेयकहरू अघि बढ्न नसकेको बताएका छन्।

उनले भने, “महत्वपूर्ण विधेयकहरू प्रतिनिधिसभामा थन्किएका छन्। हामी ती विधेयक कहिले राष्ट्रियसभामा आउँछन् र छलफल गरौंला भनेर प्रतीक्षामा छौं। प्रतिनिधिसभा छिट्टै सञ्चालनमा आए राम्रो हुन्थ्यो भन्ने हाम्रो चाहना हो।”

विगतमा प्रतिनिधिसभा अवरुद्ध हुँदा राष्ट्रियसभा पनि प्रभावित हुने प्रवृत्तिमा सुधार आएको उल्लेख गर्दै अध्यक्ष दाहालले थपे, “राष्ट्रियसभाले संविधानले दिएको परिभाषा र अधिकारअनुसार मेहनतका साथ काम गरेकोले विगतका गलत अभ्यास परित्याग गर्न सकिएको हो।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *