काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफल लिङ्ग परिवर्तन शल्यक्रिया सम्पन्न भएको छ।
जनकपुर निवासी २५ वर्षीया एक पारलैङ्गिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तु प्रयोग गरी महिलाको जननेन्द्रिय पुनर्निर्माण गरिएको हो।
शल्यक्रिया अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विशेष शल्यक्रिया शिविरअन्तर्गत गरिएको हो। सो अवधिमा अनुहार र स्तनसम्बन्धी शल्यक्रिया समेत गरिएको थियो।
अस्पतालका प्रवक्ता तथा सह–प्राध्यापक गोपाल सेढाइँका अनुसार अबदेखि यस्तो संवेदनशील र जटिल शल्यक्रिया नेपालमै उपलब्ध हुने भएकोले पारलैङ्गिक समुदायलाई विदेश जानुपर्ने बाध्यता हट्नेछ। “लिङ्ग परिवर्तन शल्यक्रिया निकै खर्चिलो हुने भएकाले देशमै सेवा सुरु हुनु महत्वपूर्ण उपलब्धि हो,” सेढाइँले बताए। “यसले पारलैङ्गिक समुदायलाई आफ्नो लैङ्गिक पहिचान प्रस्ट गर्न मद्दत पुर्याउनेछ।”
शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा. एलिजा हामीडियन जाह्रोमीको नेतृत्वमा विभागीय प्रमुख प्रा. डा. जयनमान श्रेष्ठको संयोजनमा प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सक्रिय सहभागिता रहेको थियो।
डा. श्रेष्ठका अनुसार त्रिवि शिक्षण अस्पतालमा छिट्टै ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापना गरिनेछ, जसमार्फत यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ।




