देश

प्रधानसेनापतिद्वारा ‘पर्वतीय पर्यटन’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन

काठमाडौँ। अठारौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनीको आज प्रधानसेनापति अशोकराज सिग्देलले अवलोकन गरेका छन्।

सिंहदरबारस्थित राससको केन्द्रीय कार्यालयमा यही जेठ ११ गतेदेखि सञ्चालनमा रहेको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्य झल्काउने ९६ वटा तस्बिर प्रदर्शनमा राखिएका छन्।

प्रदर्शनी अवलोकनका क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रधानसेनापतिलाई स्वागत गर्दै प्रदर्शनीमार्फत नेपालको हिमाली सौन्दर्य र पर्यटन सम्भावनाबारे आम दर्शकलाई जानकारी दिने उद्देश्य राखिएको जानकारी गराए।

यस अवसरमा नेपाली सेनाले हिमाली क्षेत्रको संरक्षणका लागि सञ्चालन गर्दै आएको ‘सफा हिमाल अभियान’बारे पनि जानकारी दिइयो। सेनाको नेतृत्वमा सन् २०१९ देखि सुरु भएको अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, नुप्से लगायतका हिमालबाट अहिलेसम्म १२ वटा शव र १०८ मेट्रिकटन फोहर संकलन गरिएको छ।

अघिल्लो वर्ष मात्र सगरमाथा क्षेत्रबाट २,२२६ किलो कुहिने तथा ८,७७४ किलो नकुहिने फोहर संकलन गरिएको थियो। उक्त अभियानमा पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार संघ, नेपाल पर्वतारोहण संघ लगायत संस्थाहरूको समेत सहयोग रहँदै आएको छ।

नेपाली सेना विगत पाँच दशकदेखि वातावरण संरक्षणमा सक्रिय रहँदै आएको छ। हाल कुल सैनिक जनशक्तिको १० प्रतिशत वातावरण संरक्षणमा खटिएको छ। रक्षा बलमार्फत वातावरणीय सुरक्षामा योगदान दिने नेपालको अभ्यास अन्य देशका लागि उदाहरणीय मोडेल भएको टिप्पणी गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *